Sunday , November 19 2017
Home / Featured News / कराँंची विमानस्थलमा आक्रमण :आतंककारीसहित २८ मारिए

कराँंची विमानस्थलमा आक्रमण :आतंककारीसहित २८ मारिए

इस्लामाबाद : पाकिस्तानको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक कराँचीस्थित जिन्ना इन्टरनेसनल विमानस्थलमा तालिबान विद्रोहीले आक्रमण गरेका छन्। आक्रमणमा विमानस्थलका कर्मचारीसहित २८ जनाको मृत्यु भएको छ। सेनाले उक्त विमानस्थल १२ घन्टापछि आफ्नो नियन्त्रणमा आएको जनाएको छ। सुरक्षाकर्मी र आक्रमणकारीबीच भएको लामो भिडन्तमा सबै आक्रमणकारी मारिए। त्यहाँ प्रहरीको पोशाकमा १० जना आक्रमणकारी छिरेका थिए।karachi-airport-terrorists-attack-asf-Jinnah-plane-fire_6-8-2014_150165_l

हतियारधारीहरूले आइतबार राति विमानस्थलमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरी कतिपय कक्षहरू नै नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर, उनीहरूले मानिसलाई बन्धक बनाउन र विमान सेवामा प्रवेश गर्न भने सकेनन्। विमानस्थलमा आक्रमण हुँदासाथै पाकिस्तानी सेनाले पनि आकस्मिक कारबाही थालेको थियो।

पाकिस्तानको अर्ध सैन्य बलका एक अधिकारीले भने, ‘विमानस्थल हामीले नियन्त्रणमा लिएका छौं। आइबार मध्यरातिदेखि सो विमानस्थलमा हमला सुरु भएको थियो। सो हमलामा परी घाइते भएकाहरूको नजिकैको जिन्हा अस्पतालमा उपचार भइरहेको छ।’ उनीहरूले नजिकैको एक कार्यालय भवनलाई कब्जामा लिई त्यहीँबाट हतियार बर्साएका थिए। राति नै विमानहरूलाई सुरक्षित स्थलतर्फ सारिएको थियो भने कर्मचारी र यात्रुलाई सेनाले सुरक्षा प्रदान गरेको थियो।

पाकिस्तानको अर्धसैन्य बलका प्रवक्ता रिप्तैन रिजबीले भने, ‘विमानस्थल सोमबार बिहान १० बजेपछि नै सेनाको नियन्त्रणमा आएको छ र मध्यान्हपछि विमानस्थलका सम्पूर्ण कामकारबाही हवाई उड्डयन प्राधिकरणलाई जिम्मा लगाइयो।’ पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा रातभरी नै गोलाबारी भएको बताइएको छ। कराँचीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार सो विमानस्थलमा निकै नै ठूलो संख्यामा सेना परिचालन गरी परिस्थितिलाई नियन्त्रणमा लिइएको थियो।

सो विमानस्थलमा १० जनामात्र हतियारधारीले आक्रमण गरेको पाकिस्तानी सैनिकले जनाएको छ। ती सबै हतियारधारी मारिएको पनि बताइएको छ। पाकिस्तानी अर्धसैन्य बलका प्रवक्ता रिज्भीले भने,’सो आक्रमणमा जम्मा १० जना हतियारधारीले आक्रमण गरेका थिए र ती सबै सैनिक कारबाहीमा मारिएका छन्। मारिनेमा सो विमानस्थलका चारजना कर्मचारी पनि परेका छन्। त्यस्तै मारिनेमा आठजना सो विमानस्थलका सुरक्षा गार्डहरु रहेका पनि विमानस्थल स्रोतले जनाएको छ। विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ। तालिबानी कमाण्डर हकिमुल्लाह मेसुदको हत्याको बदला लिन सो विमानस्थलमा हमला गरेको सो समूहले जनाएको छ।

पाकिस्तानी तालिवानहरुको सशस्त्र समूह तेहरिक ए तालिवान पाकिस्तान (टिटीपी) का ती कमाण्डरको ड्रोन हमलाका क्रममा गत नोभेम्बर महिनामा मृत्यु भएको थियो।सो समूहका प्रवक्ता सहिदुल्लाह सहिदलाई सोमबार बिहान फ्रान्सेली समाचार समिति(एएफपी) का समाचारदालाई टेलिफन गरी उक्त हमलाको जिम्मेवारी लिएको जानकारी गराएका हुन्।

वर्तमान सरकारले शान्तिवार्तालाई एक नक्कली औजारको रुपमा मात्र लिएको भन्दै ती प्रवक्ताले सरकारले हवाई हमलामार्फत पाकिस्तानको जातीय समूहहरुको बसोवास रहेका क्षेत्रमा कयौं नागरिकको हत्या गरेको आरोप पनि लगाएका छन्। उनकाअनुसार ती क्षेत्रमा हवाई हमलामा कयौं निर्दाेष महिला र बालबालिकाको हत्या गरेकोले आफूहरुले पनि त्यसको बदला तालिवान समूहले पनि लिएरै छाड्ने छ। रासस/ एएफपी

Comment