Wednesday , December 13 2017
Home / Featured News / एमाले अधिवेसनको सम्पूर्ण तयारी पुरा, उच्च प्रविधिको प्रयोग गरिने

एमाले अधिवेसनको सम्पूर्ण तयारी पुरा, उच्च प्रविधिको प्रयोग गरिने

एमालेले नवौं महाधिवेशन व्यवस्थित गर्न डिजिटल प्रविधिको अधिकतम उपयोग गर्ने भएको छ । उद्‌घाटन, बन्दसत्र र निर्वाचनमा यस्तो प्रविधि अपनाइने छ । प्रतिनिधिहरूलाई डिजिटल कार्ड वितरण गरिनेछ । फोटो र पार्टी सदस्यता नम्बरसहितको कार्डले मात्रै ढोका खुल्ने व्यवस्था मिलाइने छ । यसबाट बन्दसत्र व्यवस्थित हुने उल्लेख गर्दै युवा नेता एवं प्रचार समिति सदस्य रवीन्द्र अधिकारीले भने, ‘प्रयोग गर्न सकिनेसम्म डिजिटल प्रविधि अपनाइने छ ।’

10359158_552697681505213_471638691548726931_n

उद्घाटन रोबोटबाट गरिनेछ । सबै पदाधिकारी र सदस्यका लागि ६८ विद्युतीय मेसिनबाट मतदान हुनेछ । एक पटकमा ६८ जनाले मत हाल्न सक्ने र एक जनालाई १५ मिनेट लाग्ने अनुमान छ । व्यवस्थापन तयारीका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति, २१ सदस्यीय सचिवालय र त्यसअन्तर्गत १२ उपसमिति गठन गरिएको छ ।

उद्घाटन सत्रमा भव्य उपस्थिति देखाउन यसपालि जनपरिचालन गरिने छैन । कार्यकर्ता ओसार्ने योजना पनि छैन । वषर्ाको समयमा सबै खेती किसानीमा व्यस्त हुने भएकाले जनपरिचालन नगरिएको अर्का युवा नेता एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले बताए । तैपनि उद्घाटनको दिन धेरै उपस्थित हुने भएकाले भृकुटीमण्डपका साथै राष्ट्रिय सभागृह पनि बुकिङ गरिएको छ । सभागृहबाट पनि उद्घाटन कार्यक्रम हेर्न सकिने गरी ठूलो स्त्रिmनको टेलिभिजन राखिनेछ ।

प्रतिनिधि साढे २३ सय

महाधिवेशनमा साढे २३ सय प्रतिनिधि सहभागी हुनेछन् । करिब साढे तीन हजार जनाका लागि खानाको प्रबन्ध गरिएको छ । प्रतिनिधिहरूको आवासका लागि सुन्धारा वरपरका होटल बुकिङ गरिएका छन् । भट्टराईका अनुसार झन्डै आधाजसो प्रतिनिधि आफन्त र आफ्नो घरमा बस्ने भएकाले १६ सयका लागि मात्र आवास बुकिङ गरिएको छ ।

महाधिवेशन खर्च करिब ६ करोड

प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकका लागि खाना र खाजा महाधिवेशनस्थल भृकुटीमण्डपमै व्यवस्था गरिनेछ । खाना व्यवस्थापनका लागि दुई क्याटरिङलाई टेन्डर प्रक्रियाबाट ठेक्का दिइएको छ । खाना, खाजा र ब्रेकफास्ट गरी दैनिक प्रतिव्यक्ति करिब सय रुपैयाँ खर्च हुनेछ । करिब तीन हजारले खाना खाँदा दैनिक २१ लाख रुपैयाँ लाग्नेछ । बसाइमा प्रतिव्यक्ति ५ सयको दरले खर्च हुने अनुमान छ । १६ सयलाई आवास व्यवस्था गर्दा दैनिक ८ लाख खर्च हुनेछ । खाना र बसाइमा मात्रै महाधिवेशन अवधिभर २ करोड ३ लाख खर्च हुने देखिन्छ । महाधिवेशन लम्बिए खर्च पनि बढ्नेछ ।

महाधिवेशनको सम्पूर्ण खर्च करिब ६ करोड पुग्ने अनुमान छ । अधिकारीका अनुसार आन्तरिक नवीकरण शुल्कबाट ३ करोड संकलन भएको छ । प्रत्येक प्रतिनिधिबाट १५ सय रुपैयाँ उठाइएको छ । सांसदहरूले महाधिवेशन खर्चका लागि ५ हजार बुझाउनुपर्छ । जिल्ला कमिटीहरूबाट छुट्टै शुल्क लिइएको छ । प्रतिनिधिको अवस्था र जिल्ला हेरी १ देखि ७ लाख रुपैयाँसम्म जिल्ला कमिटीबाट उठाइएको छ । यसो गर्दा करिब ४ करोड रुपैयाँ संकलन हुनेछ ।

‘महाधिवेशनका लागि सबैभन्दा ठूलो स्रोत पार्टी नै हो,’ अधिकारीले भने, ‘बाहिरबाट उठाउने काममा त्यति जोड दिइएको छैन ।’ अर्का एक नेताका अनुसार महाधिवेशनका लागि भन्दा पनि नेताहरूले आफ्नो गुटका लागि निर्वाचन खर्च भन्दै उठाउन थालेका छन् । पार्टीको आन्तरिक व्यवस्थापन, उद्योग व्यवसायी र शुभचिन्तकबाट स्वस्फुर्त आएको रकमसमेत पूरै खर्च नहुने अधिकारी बताउँछन् । ‘महाधिवेशनको खर्च कटाएर पनि पार्टीलाई ठूलै रकम बच्छ,’ उनले भने ।

स्वास्थ्य शिविर निरन्तर

महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिको विशेष स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । स्वास्थ्य विभाग प्रमुख भट्टराईका अनुसार आँखा, दाँत, सुगर, किड्नी र मुटुसम्बन्धी शिविर सञ्चालन हुनेछन् । अन्य रोगको परीक्षण र सामान्य उपचार पनि गरिनेछ । त्यसका लागि डेढ सय स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको उनले बताए । कमसल खानाका कारण कोही बिरामी नपरून् भन्ने उद्देश्यले खानाको गुणस्तरसमेत परीक्षण गरिने भएको छ । रोग र रोगथामका उपायबारे जानकारी दिन विभागले स्वास्थ्य जनचेतनामूलक पुस्तकसमेत प्रकाशन गरिएको भट्टराईले बताए । महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई उक्त पुस्तक, सञ्चो, टुथ पेस्ट, ब्रससहितको झोला दिइनेछ ।

दुई सय स्वयंसेवक  

महाधिवेशन व्यवस्थापनमा सघाउन पार्टीले २ सय स्वयंसेवक परिचालन गर्नेछ । उनीहरूलाई महाधिवेशनस्थल व्यवस्थापन र त्यहाँ गरिने व्यवहारबारे तालिम दिइएको छ । स्वयंसेवकलाई कुनै नेताको प्रचारमा नलाग्न र पम्प्लेट नबाँड्न निर्देशन दिइएको छ । बाँडेमा तत्काल महाधिवेशनस्थलबाट निकाल्ने आचारसंहिता बनाइएको छ ।

Comment