Friday , December 15 2017
Home / Article / एमालेलाई बाहिर राखेर काँग्रेस सरकार बनाउने कसरतमा (अन्नपूर्ण पोष्ट)

एमालेलाई बाहिर राखेर काँग्रेस सरकार बनाउने कसरतमा (अन्नपूर्ण पोष्ट)

 एमालेसँग शक्ति बाँडफाँटमा विवाद देखिएपछि एमाओवादीलगायत अन्य साना दलसँग नजिकिँदै गएको कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न बहुमत जुट्ने भएको छ।

केही दिनयता ठूलो दलको हैसियतले सरकार बनाउने अनौपचारिक कसरतमा रहेको कांग्रेसलाई संविधानसभामा तेस्रो ठूलो दल एमाओवादीलगायत मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेकपा माले र नेपाल मजदुर किसान पार्टीले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। यी दलले समर्थन गर्दा कांग्रेसलाई सरकार बनाउन एमालेबाहेक नै तीन सय २६ सिटसहित स्पष्ट बहुमत पुग्छ।THT9EC407EB_PMSushil1

संविधानसभामा एमाओवादीका ८४, तराई मधेस लोकतान्त्रिक पार्टीका १०, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, मजदुर किसान पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ र मालेका पाँचजना सभासद् हुनेछन्। त्यस्तै कांग्रेसका एक सय ९६ सदस्य हुनेछन्।

‘हाम्रो पार्टी सकभर सबै दल सहभागी हुने गरी सहमतीय सरकार बनाउने, त्यो सम्भव नभए जो जो आउँछन्, तिनलाई समेटेर भए पनि बहुमतीय सरकार गठन गर्ने तयारीमा छ’, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले अन्नपूर्णसँग भने, ‘हामी एमाले पनि राष्ट्रपति चुनाउको अनावश्यक माग छोडेर सरकारमा आओस् भन्ने पक्षमा छौं।’

कांग्रेसले एमाओवादीलगायत अन्य साना दलको समर्थन जुटाएर मात्रै एमालेसँग सरकार निर्माणका विषयमा छलफल गर्ने रणनीति बनाएको छ। दोस्रो ठूलो दल एमालेले राष्ट्रपतिको नयाँ चुनाउलगायत शक्ति बाँडफाँटमा ‘बार्गेनिङ’ गर्न थालेपछि कांग्रेस एमाओवादी र साना दलको सहमति जुटाउन अग्रसर भएको हो।

कांग्रेस एक नेताले एमालेले बराबरी सिट ल्याएको जस्तो व्यवहार देखाउन थालेपछि सरकार गठनका लागि बहुमत समर्थन जुटाएर मात्रै एमालेसँग वार्ता गर्ने रणनीति बनाइएको बताए। ‘२१ सिट सानो दलले बराबरी हैसियतमा बार्गेनिङ गर्नु अस्वाभाविक हो’, ती नेताले भने, ‘हामी एमालेसहित सरकार बनाउने पक्षमा छौं तर उसले सत्ताभन्दा पनि मूल काम संविधान निर्माणतर्फ केन्द्रित गर्ने गरी आफूलाई परिपक्व बनाउनुपर्छ।’

कांग्रेसले केन्द्रीय समिति निर्णयअनुसार नयाँ सरकार गठन गर्ने प्रयास थालेको हो। गत आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले एक वर्षभित्र संविधान जारी गर्ने गरी कांग्रेस नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय गरेको थियो।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालाबीच सरकार निर्माणका विषयमा पटकपटक अनौपचारिक छलफल भएको छ। स्रोतका अनुसार दाहालले सरकारमा सहभागी नभए पनि कांग्रेस नेतृत्वको सरकारलाई बिनासर्त समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। एमाओवादी नेता वर्षमान पुनले कांग्रेस नेतृत्वको सरकारलाई बिनासर्त समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन्।

निर्वाचनपछि तेस्रो शक्ति बनेको एमाओवादीलाई सरकारमा सहभागी गराउन एमाले सकारात्मक छैन। एमालेलाई फकाउँदै कांग्रेसको अग्रसरतामा मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले राजनीतिक गतिरोध अन्त्य हुने गरी चारबुँदे सहमति गरेको थियो।

केही मधेस केन्द्रितलगायत साना दलले पनि कांग्रेस नेतृत्वमा सहमतीय सरकार बन्नुपर्ने बताएका छन्। ‘कांग्रेस नेतृत्वमा सहमतीय सरकार बन्नुपर्छ। त्यसमा हाम्रो दलको समर्थन छ’, माले महासचिव सीपी मैनालीले भने, ‘अहिलेको अवस्थामा राष्ट्रपति चुनाउको असान्दर्भिक कुरा ल्याएर बखेडा झिक्नु हुँदैन।’

कांग्रेस सभापति कोइरालासँग बुधबार साँझ भएको भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यसअघि नै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कांग्रेस नेतृत्वलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। कांग्रेसले अनौपचारिक समर्थन पाए पनि यी सबै दलसँग औपचारिक छलफल गर्ने भएको छ। प्रवक्ता बडुका अनुसार पुस १५ गते समानुपातिक सभासद् सिफारिस गरेपछि कांग्रेसले सरकार निर्माणका लागि सबै दलसँग औपचारिक छलफल गर्ने तयारी गरेको छ।

कोइरालाको निवास महाराजगन्जमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले सरकार निर्माणमा सकभर सबै दललाई सहभागी गराउने निष्कर्ष निकालेको थियो।

Comment