Monday , December 18 2017
Home / Featured News / एमालेमा चर्को गुटबन्धि, दुई गुटको छुट्टाछुट्टै भेला

एमालेमा चर्को गुटबन्धि, दुई गुटको छुट्टाछुट्टै भेला

संविधकनसभामा दोस्रो ठूलो दल नेकपा एमालेको संसदिय दलको नेता चयनमा चर्को गुटबन्धि भएको छ ।  अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता के पी ओलीको समर्थनमा  सभासद्हरु खुलेर लागेका छन् । आइतवार र सोमबार सर्वसमत संसदिय दलको नेता छनोटका लागि भएका प्रयास विफल भएपछि  आज चुनाव हुने संभावना बढेको छ ।

jhalnath khanal and kp oli_20110131094838संसदीय दलको नेता छनोटमा सहमति जुटाउन नसकेपछि एमालेका शीर्ष नेताहरु सभासदसँग भोट माग्न थालेका छन् । कुल मतसंख्या १ सय ७३ रहेको एमाले संसदीय संसदीय दलमा जीत हात पार्न ८७ मत ल्याउनुपर्ने हुन्छ ।

केन्द्रीय कमिटीको बैठकमा सोमबार सहमति नजुटेपछि अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता केपी शर्मा ओलीवीच दलको नेताका लागि निर्वाचनको तयारी सुरु भैसकेको छ ।

नेता ओलीलाई उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र सचिवद्वय शंकर पोखरेल तथा विष्णु पौडेलसमेत सिंगै पदाधिकारी टिमको साथ रहेको छ । अध्यक्ष खनाललाई बरिष्ठ नेता माधवकुमार नेपालको साथ रहेको छ ।

एमाले संसदीय दलको नेतृत्व चयनको मिति नजिकिएका बेला उपाध्यक्ष बामदेव गौतमले अर्का नेता केपी शर्मा ओलीलाई समर्थन गरेपछि दलको नेतामा ओलीको सम्भावना बढेको छ।
पार्टी अध्यक्ष झलनाथ खनाल र ओलीका पक्षमा झन्डै बराबरीजस्तो सभासद भएको अवस्थामा गौतमको समर्थनका कारण ओली बलियो भएका हुन्। यसअघि खनाललाई साथ दिँदै आएका गौतमले यसपटक संसदीय दलको नेतामा ओलीलाई समर्थन गर्ने बताए। व्यवस्थापिका संसदको बैठकबाट ओलीसँगै बाहिरिएका गौतमले सञ्चारकर्मीहरूसँग भने, ‘संसदीय दलको नेतामा म ओलीलाई सघाउँछु।’

ओलीले गौतमसँगको गठवन्धन नेतृत्व हस्तान्तरणका लागि भएको बताएका छन्। ओली–गौतम गठवन्धनमा उपाध्यक्ष विद्या भण्डारी, महाचिव ईश्वर पोखरेलदेखि सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेलसमेत खुलेर लागेका छन्। पार्टी पदाधिकारीको ठूलो समूह यो गठवन्धनतिर रहेका कारण पनि ओलीको सम्भावना बढेको हो।

खनालले भने संसदीय दलको नेता चयनका विषयमा सोमबार केन्द्रीय कमिटी बैठक हुन लागेको र बैठकको निर्णय आफ्नो लागि स्वीकार्य भएको प्रतिक्रिया दिएका छन्। संसदीय दलको नेताका लागि ओली–गौतम गठवन्धन भएको विषयमा सोधिएको प्रश्नमा खनालले आइतबार संविधानसभा परिसरमा सञ्चारकर्मीहरूसँग भने, ‘संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न भोलि (सोमबार) केन्द्रीय कमिटीको बैठक बस्दैछ। केन्द्रीय कमिटीले जे (निर्णय) गर्छ, त्यो स्वीकार्य छ।’

खनाललाई वरिष्ठ नेता माधवकुमार नेपालले समर्थन गरेका छन्। यो समूहमा युवराज ज्ञवाली, भरतमोहन अधिकारी, अमृत बोहरालगायत नेता छन्। यसअघि माघ १६ मा बसेको स्थायी कमिटी बैठकले २० गतेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए माघ २१ मा निर्वाचन गर्ने निर्णय लिएको थियो।

नयाँ समीकरणसँगै दुवै समूहले आ–आफ्नो पक्षको भेला र छलफललाई तीव्रता दिएका छन्। खनाल–नेपाल समूहले आइतबार बालकुमारीस्थित माइलस्टोन कलेजमा केन्द्रीय सदस्यहरूको भेला डाकेको थियो, जहाँ ५० जना केन्द्रीय सदस्य उपस्थित रहेको सहभागी एक नेताले जानकारी दिए।

संस्थापन पक्षको यो भेलाले संसदीय दलको नेता पार्टी प्रमुख नै हुने विगतको प्रचलनअनुसारै अघि बढ्नुपर्ने र त्यसका लागि सर्वसम्मतिको प्रयास गर्ने, तर त्यो सम्भव नभए ओली–गौतम गठवन्धनको सामना गर्ने निष्कर्ष निकालेको एक सदस्यले जानकारी दिए। ‘अहिलेका लागि संसदीय दलको नेता पार्टी प्रमुखलाई नै बनाउनुपर्छ भन्ने निष्कर्ष रह्यो,’ भेलामा सहभागी एक नेताले भने, ‘महाधिवेशनपछि जो पार्टी प्रमुख हुन्छ, संसदीय दलको नेता पनि उही बन्छ भन्ने हो।’

यसअघि एमालेमा संसदीय दलको नेताका लागि चुनाव भएको थिएन, पार्टी प्रमुख नै संसदीय दलको नेता हुने प्रचलन थियो। ०४८ र ०५१ सालमा मनमोहन अधिकारी, ०५६ मा नेपाल र ०६४ मा खनाल संसदीय दलका नेता भएका थिए।

संस्थापनको भेलाले ‘ओली–गौतम गठवन्धन’ले ध्रुवीकरण बढाउने, पार्टी एकता कमजोर पार्ने र पार्टीलाई विभाजनतिर लैजाने निष्कर्ष निकालेको ती नेताले बताए। पार्टीलाई एकताबद्ध बनाएर लैजान सर्वसम्मत नेतृत्वको खोजी गर्नुपर्ने र त्यसका लागि आवश्यक परे मंगलबार हुन लागेको संसदीय दलको नेताको निर्वाचन नै सार्नुपर्ने विषयमा समेत भेलामा छलफल भएको थियो। ‘पार्टीलाई एकताबद्ध बनाउन आवश्यक पर्‍यो भने संसदीय दलको नेता चयनको निर्वाचन मितिसमेत सर्न सक्छ,’ खनालनिकट एक नेताले भने।

गौतमले पनि आइतबारै आफूनिकट सभासद र नेताहरूको भेला बोलाएर ओलीलाई समर्थन गर्नुको कारणबारे लामो व्याख्या गरेका थिए। पार्टीको लोकतान्त्रिकरण र नयाँ नेतृत्वका लागि आफूले ओलीलाई समर्थन गरेको गौतमको भनाइ थियो। पार्टीको सातौं महाधिवेशनमा पनि लोकतान्त्रिकरणको प्रस्तावमा गौतमले ओलीलाई साथ दिएका थिए। आठौं महाधिवशेनमा भने गौतमले खनाललाई समर्थन गरेका थिए। गौतमकै समर्थनका कारण खनाल अध्यक्ष भएका हुन्।

त्यसयता खनाल–गौतम एकातिर थिए भने नेपाल–ओली अर्कातिर थिए। अहिले परिस्थितिले खनाल–नेपाल र ओली–गौतम समूह निर्माण भएको छ। गौतमले अहिले ओलीलाई समर्थन गरे पनि उनी पक्षधर सबै नेताले ओलीलाई समर्थन गर्ने सम्भावना छैन। विगतमा गौतमलाई साथ दिँदै आएका घनश्याम भुषाल, योगेश भट्टराई, ठाकुुर गैरेलगायत युवा नेताले गौतमको साथ छाड्दै अध्यक्ष खनाललाई सहयोग गर्ने भएका छन्। ओलीलाई समर्थन गरेका कारण विगतको गौतम समूह नै विभाजित बन्न पुगेको छ।

ओलीले पनि आफूनिकट नेताहरूसँग निरन्तर छलफल र परामर्श गरिरहेका छन्। पार्टीमा ओली–गौतम गठवन्धनले गुट–गुटका भेला बढेका छन् भने आइतबार हुने भनिएको सभासदहरूको अभिमुखीकरण कार्यक्रम स्थगित भएको छ।

एमालेका १ सय ७५ सिटमध्ये वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष गौतमले २–२ स्थान जितेका कारण १ सय ७३ जनाले संसदीय नेता चयनमा भोट हाल्न पाउँछन्।

 

Comment