Tuesday , December 12 2017
Home / Featured News / एमाओवादी बैठक भट्टराईद्वारा बहिष्कार, पार्टी अध्यक्षमा दाहाल पुन चयन

एमाओवादी बैठक भट्टराईद्वारा बहिष्कार, पार्टी अध्यक्षमा दाहाल पुन चयन

पुष्पकमल दाहाललाई पार्टी अध्यक्ष चयन गर्दै एमाओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। एमाओवादीको केन्द्रीय समितिमा नबस्ने भन्दै डा. बाबुराम भट्टराई पक्ष भने बैठकबाट बाहिरिएको थियो।  वैशाख १८ गते शुरू भएको सम्मेलन मंगलबार अध्यक्षमा दाहाललाई चयन गर्दै सम्पन्न भएको हो। नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसी पार्टी केन्द्रीय कार्यालय गठनलगायतका निर्णय पनि गरेको छ। नेता नारायणकाजी श्रेष्ठ र पोस्टबहादुर बोगटी सदस्य रहने गरी कार्यालय चयन गरिएको छ। सम्मेलनको समापनमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाबुरामजीहरू बाहिरिए पनि हामीहरूसँगै हुनुहुन्छ। उहाँहरूले पार्टी छाडेको होइन। म सबैलाई मिलाएर फिर्ता गर्छु।’maoist

पार्टीभित्रका कतिपय विमतिलाई मिलाएर लैजाने आफ्नो काँधमा थप जिम्मेवारी आएको र रुष्ट भएकाहरूलाई पनि मिलाएर लैजाने बताउँदै प्रचण्डले भन्नुभयो– ‘संविधानसभाभित्र, बाहिर र पार्टीभित्र पनि मेरो भूमिका अझ चुलिएको छ। यो मैले बुझेको छु। संकट आएको भए पनि म सबैलाई मिलाउने गरी काम गर्छु।’
बृहत् कम्युनिस्ट केन्द्र बनाउन एमाले, नेकपा–माओवादी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरूलाई आह्वान गरेको अवस्थामा पार्टीभित्रै देखिएको समस्यालाई उचित तवरले सम्बोधन गर्ने र जेठ १ गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकले टुंगो लगाउने प्रचण्डले बताउनुभयो।

अध्यक्षबाट प्रस्तावित भएर पनि केन्द्रीय सदस्यमा नबस्ने भन्दै बाबुराम पक्षधर नेताहरू वीरेन्द्र सभागृहको बन्दसत्र स्थलबाट बाहिरिएका थिए। अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा भट्टराई पक्षका १७ जनालाई केन्द्रीय सदस्यमा राख्नुभएको थियो। तर, बन्दसत्रस्थलमै भट्टराईले प्रचण्डलाई पार्टी चलाउन सहज होस् भनेर आफूहरू बाहिरै बस्न लागेको निर्णय सुनाउनुभएको थियो।
भट्टराई पक्षधर नेता टोपबहादुर रायमाझीले देवेन्द्र पौडेल, वामदेव क्षत्री, प्रभु साहलगायत दाहालबाट प्रस्ताव गरिएका नेता पनि केन्द्रीय समितिमा नबस्ने बन्दसत्रमा नै जानकारी गराउनुभएको थियो।

मंगलबार नै काठमाडौं फर्कनुभएका डा. भट्टराईले बाहिर अखबारहरूमा आएजस्तो ठूलो समस्या नभएको बताउँदै भन्नुभयो– ‘म चीन भ्रमणबाट फर्किएर आएपछि थप कुराकानी हुन्छ।’ भट्टराई आज बुधबार चीन जाँदै हुनुहुन्छ। सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्दै सरकारसमक्ष विभिन्न माग अघि सारेको छ। घोषणापत्रमा २०७१ वैशाख ५ गते सगरमाथा आरोहणका क्रममा मृत्यु भएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति दिन, हेपटाइटिसको संक्रमणबाट पीडित विराटनगरबासीको स्वास्थ्य उपचारमा ध्यान दिन, टनकपुर बाँधको विषयमा प्रधानमन्त्रीको गलत अभिव्यक्ति आएकाले फिर्ता लिन, मूल्यवृद्धि फिर्ता गर्न, न्यायाधीश नियुक्ति समावेशी गर्न, अस्थायी शिक्षकको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ। विराटनगर सदरमुकाम भएको १ सय वर्ष पुगेको सन्दर्भमा यसलाई थप प्रचारमा सहयोग गर्न र सफल बनाउन पार्टी कार्यकर्तालाई आह्वान पनि गरिएको छ।  एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले पार्टीमा देखिएको मतमतान्तरले विचार र विमर्शलाई थप बढाउने बताउँदै पार्टी रूपान्तरणको प्रक्रियामा जाने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘विराटनगर सम्मेलन ऐतिहासिक भएको छ। चुनौती पनि थपिएका छन्। यसलाई समाधान गर्न पार्टी अझ सशक्त भएर अघि बढ्नेछ।’  भट्टराई पक्षका नेता वामदेव क्षत्रीले अब आफ्ना मुद्दाहरूलाई कसरी सम्बोधन गरिन्छ भन्ने हेर्न बाँकी रहेको बताउनुभयो।फरक मतको कुरा सुन्ने र त्यसलाई सम्बोधन गर्नुको साटो अध्यक्षले एकपक्षीय निर्णयहरू गरेको उहाँले बताउनुभयो। नेता देवेन्द्र पौडेलले पनि फरक मतको सम्मान गर्ने परिपाटी नबसुन्जेल एमाओवादीमा समस्या रहिरहने प्रतिक्रिया दिनुभयो।

मंगलबार मध्याह्नसम्म पनि प्रतिनिधिहरू भने अन्योलमै थिए। वीरेन्द्र सभागृहमा निर्वाचन गर्नुपर्ने माग गर्दै बसेका युवा प्रतिनिधिले प्लेकार्ड बोकेर हामी चुनाव चाहन्छौं भन्दै हस्ताक्षर अभियान चलाएका थिए। तर, नेताले नाम तय गरेर ल्याई हलमा सुनाएका थिए। निर्वाचनको साटो सर्वसहमतिबाट प्रतिनिधि चयन गरी केन्द्रीय समिति बनाइएको थियो।

Comment