Monday , December 18 2017
Home / PaperPublished / एमाओवादीले निर्वाचन परिणाम स्वीकार्ने – अन्नपूर्ण पोस्ट

एमाओवादीले निर्वाचन परिणाम स्वीकार्ने – अन्नपूर्ण पोस्ट

maoistमाधव ढुङ्गेल

काठमाडौं: एमाओवादीले संविधानसभा निर्वाचन परिणाम स्वीकार गर्ने भएको छ। केन्द्रीय समितिको सोमबार बस्ने बैठकले उम्मेदवारलाई आआफ्नो क्षेत्रका घरदैलो पुगेर मतदातालाई धन्यवाद दिन खटाउने निर्णय गर्दैछ।केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पार्टीका राज्य समिति इन्चार्ज, संयोजक र पूर्वपोलिटब्युरो सदस्यको अनौपचारिक बैठकमा हारेका र जितेका सबै उम्मेदवारलाई १५ दिनभित्र जनतासमक्ष पुगिसक्‍न निर्देशन दिने सहमति भएको हो। यसको औपचारिक निर्णय सोमबार बस्ने केन्द्रीय समितिले गर्ने जानकारी बैठकका एक सहभागीले दिए। संविधानसभामा जाने-नजाने औपचारिक निर्णयचाहिँ समानुपातिकतर्फको परिणाम आइसकेपछि गर्ने तय भएको छ।

बैठकमा लीलामणि पोखरेल, उर्मिला अर्याल, गिरिराजमणि पोखरेल, अग्‍नि सापकोटा, डिलाराम आचार्य, नवराज सुवेदी, लीलाबहादुर थापा, नारायण दाहाल, वामदेव क्षेत्री, हरि अधिकारी, कुमार दाहाललगायतले धारणा राखेका थिए। सबैले शान्तिसम्झौताको मार्ग नबदल्ने गरी निर्णय गर्नुपर्ने बताएका थिए।

‘शान्तिप्रक्रिया सबै विषय टुंगो नलागेसम्म जारी राजनीतिको मार्ग फेर्न नहुनेमै सबैको जोड थियो’, आचार्यले भने। उनले तत्काल संविधानसभाभित्र जानुपर्ने धारणा कसैले पनि नराखेको र यस विषयमा पछि बैठक बसेर निर्णय गर्ने तय भएको जानकारी पनि दिए।

बैठकमा धाँधली गरेरै पार्टीलाई हराइएकोमा सबैको एकमत रहे पनि कसरी र कसले त्यसो गर्‍यो भन्नेमाचाहिँ कुनै पनि नेताले ठोस कुरा बताउन सकेनन्। बैठकमा धाँधलीका घटना समेटेर प्रतिवेदन तयार पार्न केन्द्रीय समितिबाट छानबिन आयोग बनाउने सहमति भएको छ।

पार्टीको हारको बाह्य र आन्तरिक कारणबारे समीक्षा गरेर अघि बढ्ने पनि सहमति भएको छ। अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोस्टबहादुर बोगटीले बैठकमा धारणा राखेका छैनन्। दुई दिनको अनौपचारिक बैठकमा उठेका विषय समेटेर दाहालले सोमबार संक्षिप्त प्रतिवेदन पेस गर्नेछन्।

बैठकमा सहभागी केन्द्रीय कार्यालय सचिव निर्मलकुमारका अनुसार सहभागी कोही पनि नेताले नेकपा-माओवादीसँग सहकार्य र एकता गरेर अघि बढ्नुपर्ने धारणाचाहिँ राखेनन्।

Comment