Sunday , November 19 2017
Home / Blog / आस्था र अनास्था

आस्था र अनास्था

mother-and-childमभित्रका तीन सपना – ओम, समा र विनायक| ओम – मैले रोजेको नाम | शिवको प्रतिक, बिदेशीहरुलाई उच्चारण गर्न पनि कठिनाई नहुने| कताकता मेरो धर्म पनि बचाए झैँ लाग्ने| बच्चा पेटमा आउनुसँग धेरै जनाको सपना र कल्पना जोडिएको हुन्छ | ऊ मेरो पेटमा आउने बित्तिकै मलाई मेरो परिवार अनि मेरो श्रीमानको परिवार सबैका सपना बोकी हिड्दैछु  जस्तो लाग्थ्यो| काम गर्दा मसँग उपनि काम गर्दैछ जस्तो लाग्ने, पुजा गर्दा म संगसंगै मन्त्र जप्दै छ लाग्ने| उसको बाबाले मलाई माया गर्दा हेरिरहेको छ जस्तो लाग्ने| वास्तवमा ओम मेरो मात्र होइन हामी सबैको सपना थियो|बिहेको तीनबर्षपछि मेरो श्रीमान् र मेरो पहिलो चिनो, हाम्रो झल्को अनूहारमा बोकेर आउने| ओमसँग हामी  धेरै नजिक जोडिएका थियौ| जेठमा ओम जन्मिन्छ, असारमा हामी नेपाल जाने| ओमले उता आफन्तहरू सबैलाई भेटछ| उसकी भान्जी दिदि उसलाई देखेर भाई भन्दै खुसि हुन्छे होला, फेरी केटाकेटी न हो आफुलाई माया गर्ने मामामाइजुको काखामा खेलेको ओमदेखि उसलाई अलि इर्श्या पनि लाग्ला| भान्जी को जन्मदिन पनि मनाउनु पर्छ नेपाल गको मौका परेर अनि दशैंतिहार मानेर मात्र यता फर्किने हाम्रो प्लान थियो| खानेकुरा पेटमा केही  नअडीने, काममा जान आउन पनि गार्हो| मभित्र बढिरहेको ओमले मलाई गराएको सास्ती पनि कति राम्रो लाग्ने, कति रमाइलो लाग्ने| म खाएको जति सबै फालेर बाथरूमबाट बाहिर निस्कन्थे, उहा बाहिर ढोकामा हास्दै मलाई पर्खिने| अरुबेला मलाई यसरी भोमीट होस् त आधा जिउ भैसक्ने मान्छे, अहिले ओम आउने खुसीमा जे पनि राम्रो लाग्ने| ओमसंगै आआफ्नो आमाको पेटमा हुर्कदै गरेका शैशव  र सबल| उनीहरु पनि ओमले झैँ आफ्नो आमालाई सताउदै थिए| मलाई झैँ उनीहरुको आमालाई पनि पेटमा केहि नअडीने| मेरो जिउ अलि भद्दा बनाउदै थियो ओम, मेरो छालामा काला टाटा बसेका थिए| तरपनि उसको बलियो जिउ र कल्कलौदो छालाको कल्पनाले मलाई अन्फो जिउ र छाला बिग्रेको केहि चिन्ता नै थिएन| खानेकुरा के खादा उसलाई राम्रो गर्छ खोजीखोजी खान्थे | ममीको याद धेरै आयो मलाई ओमको पालामा| उहाको काखमा हुन पाए कति सहज हुन्थ्यो झैँ लाग्थ्यो तर उसको बाबाले मलाई ख्याल राख्न कुनै कसर छोड्नु भएन|

पहिलो अल्ट्रासाउण्डमा म एक्लै गए| ओमको बाबाले उसको ढुकढुकि सुन्न पाइन भनेर धेरै गुनासो  गर्नुभयो| त्यसैले १२ हप्ताको  अल्ट्रासाउण्डमा हामीसंगै गयौ|ओमको बाबा उसलाई पहिलोपटक हेर्न एकदमै उत्साहित हुनुन्थ्यो| तर मेरो ओमले सास फेर्न छोडीसकेछ| दशैँको टिकाको दिन थियो| बिहान उठ्ने बित्तिकै म र उसको बाबा ओमलाई  हेर्न आतुर थियौ तर उसले त हाम्रो साथ छोडीसकेछ| हामीले एकार्कालाई हेरेउ, अंकमाल गरेउ तर हामीसंग एकअर्काको लागि कुनै शब्द थिएन| भोलिपल्ट हस्पिटलमा मलाई बेहोस बनाएर मेरो ओमलाई मबाट छुटटाइयो | तर शैशव र सबल भने उनीहरुका आमाभित्र मजाले हुर्किदै थिए| उनीहरुको पेट देख्दा मलाई इर्श्या लाग्थ्यो फेरी भित्रभित्र आफुलाई धिक्कार्थे| एकदिन शैशव को आमाले मलाई उनको पेट छाम्न लगाइन | राम्रो गर्भ हुनेको पेट यस्तो हुन्छ , पेटमा बच्चा हुनेले धेरै कुराको ख्याल राख्नु पर्छ, यसो गर्नुहुन्न, उसो गर्नुपर्छ, धेरै कुराको दिव्यज्ञान दिइन| उनी साहनुभुतीको भाषामा मेरो कमजोरीले गर्दा ओम खेर गयो भन्ने बुझाउन खोज्दै थिइन्| मलाई पनि आफूभित्र केहि अपराध बोध भयो, आफ्नो श्रीमानको , परिवारको , म रओम सँग जोडिएका सबैजनाको सपना तुहाए झैँ लाग्यो| डाक्टरहरुले हरेक ४ जनामा १ जनाको यस्तै हुन्छ, धेरै सामान्य कुरा हो , केवल एउटा दुर्भाग्य मात्र हुनसक्छ कारण हुनै पर्छ भन्ने छैन भने| म भगवानसँग यहि प्रश्न गर्थे  किन म चाहि चारजना मध्यको त्यो अभागी एकजनामा  परेछु| हामी सानै देखिका चार साथी मध्येको अभागी म एक, मेरो दिदीबहिनी चारजना मा फेरी मै त्यो एक , यताबाट गन्ती गर्यो उताबाट गन्ती गर्यो हरेक गिन्तीमा म चाहि त्यो एक| भगवानले मलाई किन छानेका होलान?या त म हरेक चारमध्ये सबैभन्दा बलियो परे या त म सबै चारभन्दा अभागी|यसरी मेरो ओमले मलाई यति चाडै छोडेर गयो| उसले हुर्के बढेका धेरै अनुभव मैले गर्न पाइन तर उसको ढुकढुकी रोकिईसकेपछी पनि मैले पाएका सास्ती र भोमिट सम्झिदा दिक्क लागेर आउछ | सबल र शैशव खेलेको देख्छु ओमको याद झल्झली आउछ| आज मेरो ओम भैदिएको भए?

ओमले छोडेको छ महिना भैसकेको थियो| हामीले एकअर्कालाई सम्झायौ, बाबाआमालाई सम्झायौ| सबैले हामीलाई अब कहिले भनेर प्रश्न गर्न थालेका थिए| समा मभित्र पलाइन् | ओमको रहर खेर गएदेखि मलाई छोराको रहर हुन छाडेको थियो| म चाहन्थे मेरो छोरी होस् जसको नाम म समा राख्छु | समा सजिलो नाम अनि माता पार्वतीको नाम| शिव त संहारका देवता बा उनको नाम छानेर पो मेरो ओम खेर गाको हो कि ?यो पाली मैले गौरी माताको नाम मेरो छोरीको लागि सोचेकी| मेरी समाले एउटा झिनो आशाको किरण हामीलाई देखाइन| यसपालि  भने हामीले कसैलाई नभन्ने निधो ग-यौ| समाको पाली हामीलाई धेरै डर थियो फेरी फेल भइने हो कि ?समाले मलाई खासै दु:ख पनि दिइन| ओमको पालामा जस्तो भोमिटसमिट केहि भएन| तर समाको बाबा चाही यो पाली पोजिटिभ नै थिएन| मलाई भने मेरो समा जसरी भए नि आउछे भन्ने थियो | तर समाको साथ हामीसँग ओमको भन्दा पनि कम रह्यो| पाच हप्तामै रगतका टुक्राटुक्रा बनेर मेरी समा बाहिर निस्की| मैले आफ्नो आखा अगाडी कयौ दिन लगाएर समा बिदा भएको हेर्नु पर्यो|खुसीको कुरा मैले यो पाली सहानुभूतिका तिखा शब्द सुन्नु परेन. अर्तिउपदेशका ठेली झेल्नु परेन| तर मलाई आफुले श्रीमान र आफ्नो दोश्रो सपना तुहाएको ग्लानि भने रहिरह्यो|

समाको साथ छुटेपछि चाही म एकदमै आतुर थिए| मलाई जतिसक्दो चाडो आफ्नो सपना जन्माउनु थियो| तर मनभित्र अनेक डर र त्राशले घर बनाएका थिए|पहिला म आफूभित्रका डरत्राश हटाउन चाहन्थे त्यसपछि मेरो विनायकलाइ घर ल्याउन| मनभित्र थुप्रै अनुत्तरित प्रश्नहरु थिए| के कारण यस्तो भयो ? के समा र ओम को साथ छुटनु एउटा संयोग मात्र थियो ? कि मभित्र केहि खराबी छ ? तर मेरो श्रीमान् भन्नुहुन्थ्यो “खराबी ममा पनि त हुन सक्छ, आफुलाई कति दोष दिन्छौ बाबा?”हामीले डाक्टरकोमा जाने निर्णय गरेउ| भाग्यबश यो पाली राम्रो डाक्टर परिन| उनीप्रति म सधै आभारी छु | अहिलेसम्म भेटेका मध्ये सारै फरासिली र ख्याल गर्ने| नभए कतिपय डाक्टरलाई बिरामीको उपचार भन्दा पनि दिनमा कतिजना भन्ने गन्ती धेरै मतलब हुन्छ | मेरो ब्लडमा  अलि समस्या देखियो| त्यहि कारणले यो सब भाको हुन सक्ने शंका गरेर उनले मलाई राम्रो स्पेशलिस्टकोमा पठाईन| सबैकुराको राम्रो चेक भयो अब हामीलाई सबैकुरा राम्रो होला भन्ने बिश्वास आयो| समालाई गुमाएको पाच महिना पछि विनायक मभित्र हुर्किन थाल्यो| विनायक गणेश जी को नाम| नाम सम्झिदै आनन्द आउने| मेरो श्रीमानको अनुहारमा पनि चमक थियो जुन मैले पहिले कहिल्यै देखेको थिइन | विनायकले मलाई सारै दु:ख दिदै थियो | केहि खान नहुने, छाती पोलेर सुत्न नसक्ने, भमीट गर्दा-गर्दा रगत नै आउने | हरेक हप्ताको ब्लड टेस्ट गर्दा एकदमै शुभ संकेत आउने | मेरो बिनायक मज्जाले हुर्किएको शुभ तथ्य ब्लड रिपोर्टले दिएको थियो| हाम्रो परिवार र हामी दुबैको खुसीको कुनै सिमाना थिएन| विनायकसंगै उता मेरो साथीको पेटमा स्मृति हुर्कदै थिई|कतिपछी भगवानले हामीलाई हेरेझै लाग्थ्यो| मैले बिनायकलाई यतातिरका २-४ वटा मन्दिर घुमाइसकेकी थिए |मैले खाएको पंचाम्रिता उसम्म पुगेझै लाग्थ्यो|हामी विनायक हेर्न आतुर थियौ| जब मेरो साथीले स्मृती एकदम नै राम्रो र स्वस्थ देखिई भनी, हामीलाई झनै हतार भएको थियो| सपनामा पनि म सधै शिव, पार्वती अनि गणेश देख्ने|विनायकलाई हेर्न हामी हतारहतार गयौ, एकाअर्कालाई हेर्दै, मस्किदै, मनमा अनेक कुरा खेलाउदै | पहिलोचोटी ओमलाई हेर्ने बेला संगै जना नपाएको कुरा गर्दै हामी अल्ट्रासाउण्ड गर्न पुग्यौ| सबै कुरा जाचियो मेरो पेटभित्रको बाहिरी आवरण जसले विनायकलाई सुरक्षा दिन्छ त्यो एकदम नै राम्रो देखियो तर मभित्र विनायक भने देखिएन| यस्तो कसरी हुनसक्छ मलाई ऊ त्यही कतै लुकेको छ जस्तो लाग्यो| तर यो पाली पनि हामी असफल भयौ भन्ने कुरा उसले हामीलाई निकै सहानुभूति र मिठो शब्दमा भनी| यसरी हाम्रो तेश्रो सपना तुहियो|  मलाई जतिसक्दो छिटो विनायकको झुटो आवरण अफुभित्रबाट निकाल्नु थियो| अब मसँग धैर्य नै सकिएको थियो |सबैका नजरले बिचरा भनेर हेरेझै मलाई लाग्थ्यो| परिवारको सपना फेरी तुहाएकोमा म आफुसंग नजर मिलाउन सक्दिनथे|अहिले मेरो साथीभित्र मजाले हुर्किएकी स्मृति हेर्दा मलाई इर्श्या लाग्ने गर्छ र आफु यती स्वार्थी भएकोमा आफैलाई धिक्कार्ने गर्छु |

मैले रोजेका तीन सपना – ओम, समा र विनायक यसरी मेरो अगाडी बिदा भए| या त मलाई शिव, पार्वती र गणेश फापेनन,या त संसारमा  यी तीन छैनन् जसरी मेरो ओम, समा र विनायक छैनन्|अब म यिनका बारेमा सोच्न डराउछु, अब म नया सपना देख्न डराउछु|

-प्रतिक्षा रेग्मी 

Comment