Thursday , December 14 2017
Home / Featured News / आर्मीको ट्रकसमेत प्रयोग गरेनौं, बाकस के को व्यारेकमा राख्नु ?

आर्मीको ट्रकसमेत प्रयोग गरेनौं, बाकस के को व्यारेकमा राख्नु ?

Nilkantha_20131118041617मङ्सिर ११ २०७०, सेतोपाटिमा प्रकाशित 

नेकपा–माओवादीको दस दिने बन्दबिच संविधानसभा निर्वाचन अपेक्षित शान्तिपूर्ण भयो । लगातारको बम विष्फोटकोसमेत पर्वाह नगरि मतदाताहरु सहभागी भए ।

चुनावी वातावरण देख्न र महशुस गर्न सकिने गरि नै सामान्य रह्यो ।
आफ्नो पार्टी संरचनाबाट देशभरको खबर लिइरहेका एमाओवादी अध्यक्ष प्रचण्ड सफल निर्वाचनबाट सबैभन्दा उत्साही भए ।
चितवनबाट प्रचण्डले पत्रकारहरुलाई भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल गराएकोमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र आम जनतालाई बधाई ।’
त्यो दिनसम्म ठूलो दलका शक्तिसाली अध्यक्षको मुक्त कण्ठको प्रशंसाले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उत्साही भए ।
मतदानको दिनको धपेडी सकेर घर पुगेका उप्रेतीलाई अर्को टेलिफोनले पनि झन् सन्तोष दियो ।
‘चुनाव राम्रो भो,’ कांग्रेस सभापति सुशील कोइरालाले भनेका थिए, ‘तपाईलाई बधाई छ ।’
भोलिपल्ट बिहान ५ बजे नै बाबुराम भट्टराईको फोन आयो– समग्रमा चुनाव राम्रो भो, बधाई छ ।
भट्टराईले बधाईको औपचारिकता पुरा गरेर आफ्नो कुरा पनि गरिहाले, ‘मेरो क्षेत्रमा जे–जस्तो लाञ्छना लागेका छन्, त्यसरी जित्नुपर्ने मानिस म हैन ।’
भट्टराईले चुनाव लडेको गोरखा–१ मा माओवादीले १५ वटा बुथ कव्जा गरेको आरोप कांग्रेस, एमाले सहित अरु दलले लगाएका थिए ।
त्यसो त चुनाव प्रचार प्रसारका क्रममा नै आयोग र भट्टराईबीच घच्चमच्चा भइरहेको थियो । उनले आचारसंहिता बिपरित पोस्टरिङ् गरे भन्ने गुनासो केन्द्रसम्म नै आइपुगेको थियो ।
उप्रेतीले बाबुरामका प्रचारमा सक्रिय अगुवा माओवादीलाई नरम लवजमा रुखो बचन नै लगाउनुपरेको थियो– हामीलाई त लाग्छ बाबुरामलाई संसारले चिन्छ । गोरखामै भित्तामा पोतेर चिनाउनुपर्छ ?
आयोगको आदेश कार्यान्वयन । भित्ते लेखन मेटियो पनि ।
आचारसंहिता कार्यान्वयनका सिलसिलामा ठुस्किएका होलान् भन्ने ठानेको भट्टराईले गरेको निर्वाचनको प्रशंसा उप्रेतीलाई अरु नेताको भन्दा विशेष लाग्यो ।
भोलिपल्टै एमाले अध्यक्ष झलनाथ खनालको ‘कम्प्लेन कल’ पनि आयो ।  कतै काउन्टिङ्मा समस्या आयो भन्ने विषयको फोन थियो ।
उप्रेतीका अनुसार मंसिर ४ गते त उनले दिन रात भन्न पाएनन् । फोनको ओइरो नै।
‘सबैभन्दा धेरै कल नुवाकोटबाटै आयो,’ उनी सम्झना गर्छन्, ‘रामशरण महत र प्रकाशचन्द्र लोहनीको सबै भन्दा धेरैपल्ट ।’
‘कल एभ्वाइड’ गर्न नखोज्दा नखोज्दै अति व्यस्ताताले लोहनीको एक कल र एउटा मेसेजको भने जवाफ दिन नभ्याएको उनले बताएका छन् ।
त्यो दिनभरिका अधिकांस कल चुनावको बधाईको औपचारिकतावाला थिए ।  चुनावी थकाई मेट्न ढुक्कले निदाएका उप्रेतीले मध्येरातमा खवर पाए, ‘माओवादीले गणना बहिष्कार गर्‍यो ।’
किन ?
उनलाई जानकारी गराइयो, ‘चलखेलपूर्ण निर्वाचन पुनरावलोकनको माग छ ।’
प्रचण्ड, भट्टराईले बधाई दिएको २४ घन्टा बित्न पाउँदा नपाउँदै आएको यो ‘यू टर्न’ ले उनलाई ताज्जुब लाग्ने खालकै थियो ।
मतगणना अघि बढेसँगै प्रचण्डको मोर्चामा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र, महतो, सरिता गिरीहरु थपिए ।
बहिष्कार सामान्य भइसकेकाले पुनरावलोकनको माग गर्ने दल थपिँदै गएपनि ठूलो सरोकार राखेका छैनन् ।
राष्ट्रिय जनशक्ति पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र लोहनीले एउटा लेख मार्फत् निर्वाचनमा ठूलो धाँधली भएको जिरह गरेका छन्।
संयोगले माओवादी र लोहनीका धाँधलीका आरोप उस्तै छन् । ती आरोपहरुबारे प्रमुख आयुक्त उप्रेतीको धारणा के छ त ? सेतोपाटीले जवाफ खोज्ने प्रयास गरेका छन् ।
दलका प्रतिनिधि मतपेटिकासँगै ल्याइएन भन्नेबारे
पहिला जस्तो गाइजात्रे चुनाव अहिले भएको भए त चुनाव नै क्यान्सिल हुन्थ्यो । शान्ति प्रकृयाबाट ल्याएर भर्खर घचेढ घुचुढ गरेर चुनाव गरिएको हो । स्थिती पनि फरक थियो, समय पनि फरक थियो ।
मैले देखेको छु मतदान अधिकृतले बाकस छोडेर भागेको ।
राती पुलिसले मतदान अधिकृत खोजेर ल्याएर बाकस चिनाइ मागेको । फलानो ठाउँको बाकस होला ल्याऊ ल्याऊ भनेर पछि परिणाम निकाल्नुपर्ने अवस्था आएको ।
धेरैजसो मतदान केन्द्रबाट मतदान अधिकृतलाई सँगै नल्याइदिएर  समस्या नै भएको थियो उतिबेला ।
मतपेटिका लिएर आउँदा अहिले कतिपय दलले भने जस्तो प्रतिनिधि सँगै एउटै मोटरमा लिएर ल्याउन आवश्यक छैन ।
मतदान अधिकृत ल्याउनै पर्ने हो । सबै जिम्मेवारी उसकै हो । त्यसैले हामीले कम्तीमा १÷२ जाना प्रतिनिधि र पर्यवेक्षक जसरी पनि ल्याउनु भनेका थियौं ।
१ सय २४ दलका प्रतिनिधि ल्याउन सकिन्न । व्यवहारिक नै छैन ।
त्यसैले जति प्रतिनिधि छन् उमेरले जेष्ठलाई ल्याउनु भनेका थियौं । अहिले मात्र हैन मैले देखेको हाम्रो र संसारको कुनै पनि चुनावमा अहिलेसम्म सबै प्रतिनिधिलाई ल्याएको मैले थाहाँ पाएको छैन ।
मतपेटिका सुरक्षित भएन भन्नेबारे
मतदान सकिएपछि हाम्रो ध्यान चाँडो भन्दा चाँडो मतपेटिकालाई काउन्टिङ् सेन्टर पुर्‍याउनु हुन्छ । मतपेटिकामा सिलबन्दी गरिएको मतदाताको विवेक सुरक्षित रुपमा गणना गर्नु हाम्रो प्रमुख दायित्व हो ।
विभिन्न सुरक्षा चुनौतीलाई समेत विचार गरेर हामीले मतपेटिका हिडाउँछौं । बस, पिक अप, ट्रक वा हेलिकोप्टरको पनि प्रयोग गर्‍यौं ।
मतपेटिका सुरक्षामा कतैबाट चुनौती नआवस् भनेर हामीले यसपाला छुट्टै रणनीति नै अपनायौं ।
अघिल्ला निर्वाचनमा सिडिओले स्रोत साधनको जोहो गर्नुपर्ने हुन्थ्यो । त्यो समस्या नआओस् भनेर सिडिओलाई पहिल्यै पैसा पठाइदिएका थियौं । मतदान भन्दा अघि नै मतपेटिकाहरु कसरि कलेक्सन सेन्टरहरुका जम्मा गर्ने भन्ने रुट बनिसकेको थियो ।
यसपालाको सुरक्षा चुनौती आँकलन गरेर अस्थायी कलेक्सन सेन्टरहरु समेत बनाइएको थयो । त्यहाँ जम्मा गरेका मतपेटिकालाई थप सुरक्षाबलसहित सदरमुका पुर्‍याइयो ।
मतपेटिकाको ओसार पसारमा आर्मीको संलग्नता भन्नेबारे
मतपेटिकाको ओसारपसार हवाई र स्थलमार्गबाट भएको थियो । हिमाली र कतिपय पहाडी जिल्लामा हेलिकप्टरको विकल्प थिएन । हेलिकप्टर हामीले सेनाको नै प्रयोग गरेको हो ।
ग्राउण्ड हेण्डलिङ् जनपद र सशस्त्र प्रहरीले गरेका हुन् । मतपेटिका सुरक्षाको पनि प्रमुख अधिकारी सिडिओ नै हो ।
त्यसैले सिडिओलाई नै समग्र सुरक्षाको जिम्मा थियो ।
मतपेटिका रातभर सेनाको व्यारेकमा राखियो भन्नेबारे
हास्यास्पद् मध्येको सबभन्दा तल्लास्तरको आरोप हो यो । हामीले आर्मीको ट्रक समेत प्रयोग गरेनौं । बरु अरु सरकारी निकायका जे जति छन् प्राइभेट खोजेर काम चलायौं ।
सुरक्षा प्रवन्धको आवाश्यकता अनुसार कलेक्सन सेन्टरमा केहि घन्टा राखियो । कहिँ पनि व्यारेकमा राखिएको छैन ।
मतपेटिकामा लगाएको सील टुटफुट भएको भन्नेबारे
धेरैवटा अघिल्ला निर्वाचनमा हामीले मतपेटिका लाहा छाप लगाएर चलायौं । धागोले बाँधेर लगाएको लाहाछाप सबैलाई मान्य हुन्थ्यो ।
टिनको बाकसमा कहिले काहि गणनास्थलमा मुसा पनि भेटिन्थ्यो ।
थोत्रो जनैको धागो जस्तो डोरोले बाकस बेरेर लगाएको सिलभित्र नागरिकको विवेक सुरक्षित भएको विश्वास गरिन्थ्यो ।
अहिलेको हाम्रो सिल अत्याधुनिक खालको हो । सायद जापानबाट आएको हो । प्रत्येक सिलमा र्‍यान्डम नम्बर हुन्छ । पिनकोड जस्तो ।
त्यो सील बन्द गरेपछि खोल्न नमिल्ने प्रविधिबाट बनेको छ । काट्नै पर्छ । प्लास्टिकको सील काटेपछि जोड्न सकिन्न ।
मतपेटिकामा सिल लगाउँदा र गणना सुरु गर्नुभन्दा पहिला पनि दलका प्रतिनिधिले सिल चेकजाँच गरेर ठीक छ भनेकै हुन् ।
कलेक्सन सेन्टरबाट मतपेटिका ट्रकमा लोड गर्दा तीन चार वटासम्म पनि खप्टिएको रहेछ । कहिँ सीलका प्लास्टिक अलि अलि चुडिएको वा टुटेछ । एउटा बाकसमा कम्तीमा चारवटा सिल लगाएको हुन्थ्यो ।
प्रतिनिधिकै सहमतिमा एकाध सिल टुटेको भएपनि अरु सिल हेरेर गणना अघि बढाउने निर्णय गरिएको हो ।
त्यहाँमाथि बाकसको मुखमा अलग्गै सिल कभर त छँदैथियो ।
बाकस नै साटियो भन्नेबारे
श्रीमान श्रीमतीबिचमा विश्वासको सम्बन्ध नभइ गृहस्थी चल्दैन । सधै सँगै बस्ने । सहवास गर्ने । छोरो जन्मेपछि मेरो हैन भने जस्तै भयो यो त ।
बच्चाको डिएनए टेस्ट गर्नुपर्‍यो भन्ने । आफ्नो भए नभएको पत्ता लगाउँछु भन्यो भने त्यो सम्बन्ध कति मिठो रहला ।
त्यस्तो कुरा कल्पना मात्र गरेपनि पाप लाग्छ ।
अहिले धाँधली भयो भन्ने र बच्चा आफ्नो हैन भन्नेहरु एकै हुन ।
बाकस नै साट्ने निर्वाचन २०४३ साल भन्दा अघि कल्पना गर्न सकिन्थ्यो । त्यो पनि राष्ट्रव्यापी रुपमा हैन । एकाध ठाउँमा कल्पना गर्न सक्न्थ्यिो ।
२०४७ साल यता बाकस साट्ने कल्पना नै नगर्नुस् । बाकस फाल्ने, टुटाउने, लात्ताले हान्ने हुनसक्छ । यसपाला त त्यो पनि ऐतिहासिक नै रुपमा शान्तिपूर्ण भयो ।
१७०-८० बुथ जहिल्यै रिपोलिङ् गर्नुपर्नेमा सप्तरी र जुम्लामा जम्मा दुई वटा बुथामा मात्र दोहोरियो ।
बाकस नै साटियो भन्नेले देखाउनुपर्‍यो कुन मतदान केन्द्रमा बढी, कुनमा कम मतदान भएको छ । कुनै मतदान केन्द्रमा सबै भोट एउटै पार्टीले ल्याएको छ अरु दलले पाएको छ भने पनि देखाउनुस् ।
मतगणनास्थलमा ताला लगाउन नपाएको भन्नेबारे
मतपेटिकालाई संकलन गरेर जिल्ला सदरमुकाम वा गणनास्थलमा ल्याएर बुझाउनुपर्ने हुन्छ । त्यतिबेला पनि पार्टीका प्रतिनिधिहरु रोहबरमा हुनुपर्छ, हुन्छन् । त्यस्तो गोदाममा निर्वाचन क्षेत्राधिशले ताला लगाउँछ ।
धेरै दलले त्यसैमा चित्त बुझाउँछन् । जुन दललाई त्यसमा चित्त बुझ्दैन उसले आफै पनि ताला खप्टाएर लाउँछन् । यसपाला पनि कहिँ कतै कुनै दलले लगाए भन्ने मैले सुनेको छु ।
फेरि पनि म भन्छु– सबैभन्दा ठूलो कुरा विश्वास हो । खास्टोमा पोको पारेर ल्याएको मत सबैले स्विकारेर गणना भएको पनि छ । त्यसबाट जीत हार हुँदा पनि कसैले कसैलाई शंका नगरेको मैले आफै देखेको छु ।
मतदान अधिकृतको सहीको मसीको रङबारे
कालो मसी पछिसम्म पनि उड्दैन भनेर आधिकारिक मान्ने चलनै हो । हामीले पनि सुरुमा कालो मसीले सही गर्नु भनेका थियौं ।
तर कहिँ, कतै मतदान अधिकृत झुक्किएर नीलो वा रातोले सही गरे भने के गर्ने । मलाई यो प्रश्नले पिरोल्यो ।
मैले आफै जवाफ निकाले– मतको सुरक्षा महत्वपूर्ण हो । र अरु मसी परेको भएपनि मान्यता दिने टुङ्गो लगायौं ।
ग्रयाण्ड धाँधली भन्नेबारे 
मतदान केन्द्रपिच्छे मतपत्रको युनिक नम्बर छ । एउटा बाकसको मत सँगै रहेको अर्कोमा खसेपनि बदर हुन्छ ।
किनभने हामीले प्रत्येक मतपत्रको अधकट्टीसँग रुजु गरेर मात्र भोट गन्छौं ।
यतिहुँदाहुँदै कसैलाई धाँधली भएको भन्ने लाग्न सक्छ । भने त्यस्तालाई एउटै जवाफ मात्र दिन सकिन्छ– सबैले निर्वाचन न्याय पाउुनपर्छ । चित्त नबुझ्ने जति निर्वाचन अदालत जाऊ ।
सुनलाई किन सुन भनेर डिफेन्ड गर्नुपर्‍यो । घामलाई घाम नै हो, सेतोलाई सेतो भनेर बचाउ गर्नुपर्ने स्थिति आयो भने राम्रो हुँदेन।
द्वापर युगमा भए अग्नीकुण्डमा हाम फल्नुहुन्थ्यो । कली युगमा हामफालौं भने डढेर खरानी भइहालिन्छ । त्यसैले म घाम जस्तै उज्यालो सत्यलाई बचाउ गर्ने पक्षमा छैन ।
निर्वाचनको पुनरावलोकनबारे
मिति घोषणा भएकै दिन निर्वाचनको गर्भादान भएको हो । मंसिर ४ गते सुडोल सुडोल बच्चा जन्मियो । बाउलाई आकार प्रकार, हातखुट्टा, आँखा, परेला अलि चित्त बुझेन ।
पुनरावलोकन गर्नुपर्‍यो भन्ने लाग्यो । बच्चालाई फिर्ता पठाउन सकिन्छ ? पुनरावलोकनको माग त्यस्तै हो ।

Comment