Thursday , December 14 2017
Home / PaperPublished / अमेरिकी सेनामा सुनिता – अन्नपूर्ण पोष्ट

अमेरिकी सेनामा सुनिता – अन्नपूर्ण पोष्ट

स्याङ्जाकी सुनिता कार्की अर्थात् फस्ट लेफ्टिनेन्ट। अमेरिकी सेनामा पुग्न सफल यी नेपाली संगीको जीवनमा अहिले कायापलट नै भएको छ। सेनाको जागिर, अझ महाशक्ति मुलुक अमेरिकामा। पृथ्वीमा नेपालको ठीक विपरीत गोलाद्र्धमा रहेको अमेरिका पुगेर धेरैको सपनाको पदमा पुग्न सफल सुनिताका लागि यो नयाँ जीवन नै भएको छ।

sunita1सेनामा प्रवेश गरेपछि उनले सोचेभन्दा बेग्लै अनुभव गरेकी छन्। सेनाको पोसाक लगाएर आफ्नो युनिटमा गएपछि नयाँ जीवन धारण गरेको महसुस भइरहेको उनी बताउँछिन्। ‘त्यहाँ छिरेपछि मेरो बोलीचालीदेखि रहनसहन सबै फरक हुन्छ’, सुनिता भन्छिन्, ‘मैले यसबाट धेरै सिक्ने मौका पाएँ। सामान्य बोलीचालीको भाषादेखि नियमकानुन र युद्ध कौशल सबै सिकेँ।’

पुख्र्यौली घर स्याङ्जा भए पनि पोखरामै जन्मेहुर्केकी सुनिता अमेरिकी सेनासम्मको यात्रा तय गरे पनि अझै धेरै सिक्न बाँकी रहेको बताउँछिन्। ‘पोखराजस्तो सुन्दर सानो सहरमा हुर्किएकी नेपाली छोरी अमेरिकी सेनामा अफिसर हुन पाउँदा खुसी छु’, उनी भन्छिन्, ‘अहिले मैले पाइरहेको मानसम्मानका कारण निकै गर्व महसुस गरिरहेकी छु।’

विद्यार्थी जीवनमा पनि सुनिता एक अब्बल विद्यार्थीमा गनिन्थिन्। पढाइका साथसाथै नृत्य, साहित्य, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा पनि अगाडि नै पर्थिन्। बाल्यकालमा कसैले उनलाई ‘तिम्रो भविष्यको लक्ष्य के हो?’ भनेर सोध्दा उनको एउटै जवाफ हुन्थ्यो, ‘आर्मी पाइलट।’ युनिफर्म लगाएर कर्मक्षेत्रमा डट्ने रहर उनमा सानैदेखि थियो। विद्यार्थी जीवनमा पनि उनी जिन्सका झोले पाइन्ट र सर्टमा केटाजस्तै शैलीमा हिँड्न रुचाउँथिन्।

पोखराको गैरापाटनस्थित कुमुदिनी होम्सबाट एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण सुनिताले सोही ठाउँको एसओएस हर्मन माइनर गण्डकीबाट विज्ञानमै दस जोड दुई उत्तीर्ण गरिन्। दस जोड दुईको नतिजा उनलाई त्यति चित्त बुझेन। त्यसैले उच्चशिक्षाका लागि अमेरिका जाने रहर उनको मनमा जाग्न थाल्यो। केही समय उनले एक वायुसेवा कम्पनीमा काम गर्न थालिन्। त्यति बेला विदेशी पर्यटकसँगको सरसंगतले अमेरिका जाने उनको रुचि झनै बढ्दै गयो।

सन् २००५ मा उनको इच्छा पूरा भयो। आँखाभरि आँसु अनि मनभरि नयाँ सपना र नयाँ उमंग बोकेर उनी अमेरिका लागिन्। विदेशी भूमिमा एक्ली महिला। सुरुका दिनमा त्यहाँ टिक्नकै लागि पनि त्यति सजिलो थिएन। जिउनकै लागि पनि ठूलो संघर्ष गर्नु परेको तीतो अनुभव उनीसँग छ। फुल टाइम कलेजकै बीच बस्ने ठाउँको समस्या, कामको समस्या, न्यूनतम तलब अनि कहिलेकाहीँ काम गरेको ठाउँमा पनि पैसा नदिने क्रम बढ्दै गयो। कैयौंपटक ती दु:खकष्ट सबै छाडेर फेरि नेपाल नै फर्किऊँ कि जस्तो पनि उनलाई नलागेको होइन। विस्तारै बानी पर्दै गए पनि परिस्थिति सामान्य लाग्न थाले। आफूलाई सम्हाल्दै उनी अगाडि बढिन्।

सन् २००९ को डिसेम्बरमा नर्सिङमा डिग्री हासिल गरेपछि उनले त्यहाँको एक अस्पतालमा काम गर्न थालिन्। केही समयपछि उनले आफ्नो युनिटमा प्रमुख नर्सको भूमिकासमेत निर्वाह गरेकी थिइन्। सन् २००९ कै मध्यतिर अमेरिकी सेनाले कानुनी मान्यता पाएर अमेरिकामा बसोबास गर्दै आएका मानिसलाई सेनामा भर्ना हुने मौका दिन एक कार्यक्रम अगाडि ल्याएको थियो। पढाइ नसकेकै कारण उनले त्यति बेला मौकाको फाइदा उठाउन सकिनन्। पछि उनीसँग कामको अनुभवका साथै विज्ञानमा स्नातक गरेको उपाधि पनि थपियो। त्यसका साथसाथै अमेरिकामा स्थायी रूपमा बसोबास गर्न पाउने अनुमतिपत्र ग्रिन कार्ड पनि। यी सबै योग्यताका साथ उनले अमेरिकी सेनामा सेकेन्ड लेफ्टिनेन्ट पदमा भर्ना हुने कोसिस गरिन्।

भाग्यवश उनी त्यसमा छानिइन्। केही समयपछि उनको पढाइ र कामको योग्यताका आधारमा बढुवा भयो। उनी अहिले फस्ट लेफ्टिनेन्ट पदमा सेवारत छिन्। त्यति बेला स्वास्थ्य सेवा र भाषा प्रशिक्षणका लागि अमेरिकी सेनामा केही व्यक्तिको आवेदन मागिएको थियो। उनका अनुसार हाल करिब दुई सयभन्दा बढी नेपाली अमेरिकी सेनामा विभिन्न पदमा कार्यरत छन्।

फस्ट लेफ्टिनेन्ट पदमा रहेर काम गर्न सुनितालाई त्यति सजिलो भने पक्कै छैन। सेनाको जागिर भएकाले देशका लागि खट्न हर पल तयार हुनुपर्छ। जति बेला जे पनि गर्नुपर्ने भएकाले सधैं आफूलाई शारीरिक र मानसिक रूपमा तयार राख्नुपर्ने उनको अनुभव छ। काम गर्ने ठाउँमा उनका कैयौं साथीले नेपालको नाम पहिलोपटक सुनेको प्रतिक्रिया दिन्छन्। सुनितालाई भने आफू जन्मेको ठाउँ, यहाँको कला, संस्कृति र इतिहासलाई उनीहरूका सामु राख्न पाउँदा आनन्द अनुभूति हुन्छ। उनीहरू पनि नयाँ कुरा सिक्न पाउँदा खुसी हुन्छन् र यसले सुनितालाई समेत काममा डटेर लाग्न हौसला मिल्छ।

हाल काममै व्यस्त सुनिता तत्कालै नेपाल फर्कने आफ्नो कुनै योजना नरहेको बताउँछिन्। भन्छिन्, ‘मलाई नेताहरूलाई जस्तो ढाँट्न आउँदैन। त्यसैले अहिले त नेपाल फर्कन मिल्दैन। गैरआवासीय नेपालीका लागि सरकारी नीतिनियममा सुधार आएभविष्यमा जान पनि सकिन्छ।’ अमेरिका बस्दैमा नेपालका लागि केही गर्न सकिन्न भन्नेमा उनी विश्वास गर्दिनन्। ‘मनले चाह्यो भने केही गर्न स्वदेशमै बस्नुपर्छ भन्ने त छैन नि’, उनी प्रश्न गर्छिन्।

 

sunita2केही समयअघिमात्रै आफ्नी आमाको उपचारका सिलसिलामा नेपाल आएकी सुनितालाई सबैभन्दा बढी सोधिएको प्रश्न उनको विवाहका बारेमा हो। हामीले पनि यही जिज्ञासा राख्दा उनको यस्तो जवाफ आयो, ‘यसपालि मलाई सबैभन्दा बढी सोधिएको प्रश्न नै यही हो। सबैलाई एउटै उत्तर दिएँ, सोचौंला।’ आफ्नो हुनेवाला जीवनसाथीमा ठ्याक्कै यस्तै गुण हुनुपर्छ भन्ने उनले सोचेकी छैनन्। माया गर्ने र समझदार भने होस् भन्ने उनलाई लागेको छ। हुन त उनले अमेरिकाका थुप्रै ठाउँ घुमिसकेकी छन्। तर पनि विश्वका अन्य देश घुमेर नयाँ व्यक्तिसँग भेट्ने र नयाँ कुराहरू सिक्ने उनको इच्छा छ।’

अंग्रेजीमा एउटा भनाइ छ, ‘लाइफ इज अ लर्निङ प्रोसेस।’ यस भनाइबाट निकै प्रभावित सुनिता भन्छिन्, ‘मैले आफ्नो जीवनमा भेटेका हरेक मानिसबाट केही सिक्ने मौका पाएको छु।’ आफ्नो पढाइ र करिअरलाई अझै धेरैअगाडि लैजाने उनको योजना छ। अमेरिका जाँदा र त्यहाँको सेनामा प्रवेश गर्दाको खबरले उनका साथीहरूलाई अचम्ममा पारेको थियो। अझै पनि यस्ता धेरै खुसीका क्षण ‘सरप्राइज’का रूपमा दिँदै जाने उनको चाहना छ।

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ’ भन्ने उखान चरितार्थ पार्दै एक असल मान्छे बन्ने लक्ष्य राख्ने सुनिताको सामाजिक काममा पनि रुचि छ। धेरै ठूलो परियोजनामा हात हाल्न नसके पनि नेपालका केही जेहेनदार विद्यार्थीलाई पढाइका लागि छात्रवृत्ति दिने उनको योजना छ। ‘भावी पुस्तालाई शिक्षा प्रदान गर्न सके उनीहरूले देशमै केही योगदान पु:याउन सक्छन्’, उनी भन्छिन्।

उनको अनुभवमा अमेरिकामा मानिसलाई जति चुनौती छ, त्यति नै अवसर पनि। ‘त्यसको सही उपयोग गर्न जान्नुपर्छ’, सुनिता भन्छिन्, ‘म महिलावाद र कृपावादमा विश्वास गर्दिनँ।’ तैपनि उनी भेदभाव भने पटक्कै सहन सक्दिनन्। कुनै पनि कामको सुरुमा आउने बाधाव्यवधानसँग डराएमा आफ्ना ठूला सपनालाई यथार्थमा बदल्न नसकिने उनी बताउँछिन्। ‘क्षमताले याएसम्म लागिपरेमा कुनै पनि काम असम्भव छैन’, उनी भन्छिन्।

 

One comment

  1. army pilot banne interest bhaeko manche nursing; wawawwa

Comment