Monday , December 18 2017
Home / PaperPublished / अबको प्रधानमन्त्री को ?- नागरिक दैनिक

अबको प्रधानमन्त्री को ?- नागरिक दैनिक

index_html_2d0c7388काठमाडौं-संविधानसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले एमालेभन्दा १४ स्थान बढी ल्याए पनि समानुपातिकतर्फ एमालेले अग्रता लिइरहेको अवस्थामै भावी प्रधानमन्त्रीको विषयमा बहस र अड्कलबाजी हुन थालेका छन्।
प्रत्यक्षमा ल्याएको सिट र समानुपातिकतर्फ अहिलेसम्म पाएको मतका आधारमा कांग्रेस र एमाले दुवै दुई–दुई सय सिटको हाराहारीमा व्यवस्थापिका संसदमा जानेछन्। त्यो स्थितिमा सरकार निर्माणको दुई विकल्प हुन्छ: पहिलो, कांग्रेस–एमाले मिलेर संयुक्त सरकार बनाउने। दोस्रो, कांग्रेस र एमालेले अन्य दलको सहयोगमा आ–आफ्नै नेतृत्वमा सरकार बनाउने।नेपाली कांग्रेस र एमालेका प्रधानमन्त्री आकांक्षीमध्येबाट को प्रधानमन्त्री बन्न सक्छ भन्ने अड्कल कुन–कुन दल मिलेर सरकार बनाउँदैछन् भन्नेमा निर्भर हुने देखिन्छ।

कांग्रेस–एमालेको संयुक्त सरकार बन्ने अवस्थामा कांग्रेस सभापति सुशील कोइराला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालमध्ये कुनै एक नेता प्रधानमन्त्री बन्ने सम्भावना छ। यसका केही निश्चित कारण छन्। कांग्रेसको अहिले १४ सिट बढी भएको अवस्थामा उसलाई उछिन्न एमालेले समानुपातिकतर्फ कांग्रेसको भन्दा तीन लाख बढी मत ल्याउनुपर्ने हुन्छ। कांग्रेस र एमालेले समानुपातिकतर्फ अहिले ल्याएको मत अनुपातलाई आधार मान्ने हो भने कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना छ। यस्तो अवस्थामा कोइराला सबैभन्दा ठूलो पार्टीको सभापतिको हिसाबले पनि प्रधानमन्त्री बन्न सक्छन्।

कोइरालाले विगतदेखि नै अन्य दलसँग सहमति र सहकार्यको कुरा गर्दै आएका छन्। उनले आइतबार नारायणघाटमा आयोजित कार्यक्रममा पनि सहमति र सहकार्यलाई नै जोड दिए। ‘हामी सहमति र सहकार्य छाड्दैनौं,’ कोइरालाको भनाइ थियो। यस हिसाबले कांग्रेसबाहेकका शक्तिका लागि कांग्रेसका अन्य नेताको तुलनामा कोइराला रोजाइमा पर्न सक्छन्।

कथंकदाचित, कांग्रेसको सट्टा एमालेको नेतृत्वमा सरकार निर्माण गर्दा त्यसको नेतृत्व गर्ने सम्भावना नेपालको रहन्छ। कारण, कांग्रेसका लागि एमाले अध्यक्ष झलनाथ खनालको तुलनामा नेपाल स्वीकार्य हुन सक्छन्। विगतमा पनि कांग्रेसले संयुक्त सरकारको नेतृत्वमा खनालको सट्टा नेपाललाई नै रोजेको हो। तर, नेपालले एमाओवादीप्रति देखिएको अतिमोहले यो समीकरणमा केही असर पार्नसक्छ।

कांग्रेस–एमाले संयुक्त सरकारको सट्टा आफैं सानो दलसँग मिलेर सरकार बनाउने दोस्रो विकल्पमा गए भने प्रधानमन्त्रीका आकांक्षी धेरै हुन सक्छन्। यी दुवै पार्टीले तेस्रो÷चौथो शक्तिसँग मिलेर सरकार बनाउने प्रयास गर्न सक्छन् । त्यो अवस्थामा कांग्रेस र एमालेका प्रमुखहरू क्रमशः सुशील कोइराला र झलनाथ खनालमध्ये जोकोही पनि प्रधानमन्त्री बन्न सक्छन। तर, अहिलेको अवस्थामा संसदीय राजनीतिको यो सोझो गणितले काम गर्ने स्थिति छैन।

कोइराला र खनाल मात्रै स्वाभाविक हकदार नभएर कांग्रेस र एमाले दुवैमा प्रधानमन्त्रीका दाबेदार धेरै छन्। कांग्रेसमा तीनपटक प्रधानमन्त्री भइसकेका वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्रीका आकांक्षी छन् भने यसअघि नै आकांक्षी भई प्रधानमन्त्रीय चुनावमा प्रतिस्पर्धा गरेर असफल भएका रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका दाबेदार बन्न सक्छन्।

सरकारको नेतृत्व कांग्रेसले गर्ने अवसर पाएको अवस्थामा पनि कोइराला, देउवा र पौडेलबीच प्रतिस्पर्धा हुन सक्छ। यसअघि लाभको कुनै पद नलिएका हिसाबले कोइरालाले प्रधानमन्त्री हुन चाहे त्यति गाह्रो नपर्न सक्छ। त्यस्तो अवस्थामा देउवालाई पार्टी जिम्मा लगाउनुपर्ने हुनसक्छ, जसका लागि कोइराला तयार नहुन सक्छन्। देउवालाई सहजै प्रधानमन्त्री बनाउन पनि कोइराला–पौडेल तयार नहुन सक्छन्।

देउवाले भने आफू प्रधानमन्त्री बन्न सक्ने कुराको संकेत गरिसकेका छन्। आइतबार धनगढीमा आयोजित कार्यक्रममा देउवाले समानुपातिकतर्फको मत परिणाम आएपछि मात्रै सरकारको नेतृत्वका विषयमा निर्णय लिने बताएर आफूलाई घुमाउरो शैलीमा प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरिसकेका छन्। ‘कांग्रेसले नेतृत्व गर्ने अवसर पाए प्रधानमन्त्री को बन्छ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, ‘त्यसका लागि समानुपातिकतर्फको परिणाम कुर्नुपर्छ । त्यो परिणाम आएपछि पार्टीले छलफल गरेर निर्णय गर्नेछ।’

देउवाको यो भनाइले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको सभासदको ‘कम्पोजिसन’ हेरेर संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा गर्ने कुरालाई संकेत गर्छ। संसदीय दलका नेता प्रधानमन्त्री बन्ने प्रावधान हुन्छ। कोइरालाले भने देउवाको विकल्पमा पौडेललाई अघि सार्न सक्छन्। देउवालाई पर्गेल्दै पौडेललाई अघि सारेको अवस्थामा भने कोइरालालाई पार्टी सम्हाल्न गाह्रो पर्न सक्छ।

जसरी कांग्रेसमा ‘कोइराला–देउवा र पौडेल’को ‘ट्रोइका’ सरकार सञ्चालनका विषयमा एकजुट हुन गाह्रो छ, एमालेमा पनि स्थिति त्योभन्दा भिन्न छैन। एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाएको अवस्थामा अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल र अर्का नेता केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुन सक्छ। खनाल र नेपाल दुवै पूर्वप्रधानमन्त्री हुन् भने ओली पालो पर्खिएर बसेका छन्। एमालेमा खनाल–नेपाल र ओलीको ‘ट्रोइका’मात्रै नभएर उपाध्यक्ष बामदेव गौतमले समेत प्रधानमन्त्री दाबी गर्न सक्छन्।

खनाल पार्टी अध्यक्ष भएकाले एमालेले अवसर पाएको स्थितिमा स्वाभाविक हिसाबले प्रधानमन्त्रीको दाबी गर्न सक्छन्। त्यसमाथि अघिल्लो संविधानसभामा चुनावमा हार बेहोरेको एमालेले अहिले उनकै नेतृत्वमा शक्ति आर्जन गरेका कारण पनि उनले दाबी गर्ने सम्भावना बढेको छ।

विगतमा एमाले–कांग्रेस गठबन्धन सरकारको नेतृत्व गरेका नेपाल अहिले पनि प्रधानमन्त्रीका दाबेदार हुन सक्छन् । नेपाल नेतृत्वको सरकारले तत्कालीन एकीकृत माओवादीको ६ दिने आमहडताललाई निस्तेज मात्रै गरेन, अयोग्य लडाकुलाई बिदाइ गरेर शान्ति प्रक्रियालाई एक कदम अघि बढाएका थिए। उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) लाई नेपाली राजनीतिमा धेरै खेल्न नदिई बिदाइसमेत गरे।

विगतमा शान्ति प्रक्रियामा योगदान पुर्याउने नेताहरूमा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहालसँगै नेपालको नाम पनि आउँछ, जुन अहिले भइरहेका अन्य आकांक्षीमध्ये उनको सबल पक्ष हो। नेपालले विगतमा पार्टी र सरकार दुवै ‘फ्रन्ट’को नेतृत्व गरेका कारण अहिले एमालेलाई सरकारको नेतृत्व गर्ने अवसर आउँदा ओलीले पनि दाबी गर्न सक्छन्।

– See more at: http://www.nagariknews.com/feature-article/story/10195#sthash.sePiD0oQ.dpuf

Comment