Tuesday , December 12 2017
Home / Featured News / अन्तिम अभ्यास खेलमा नेपाल पराजित, कप्तान खड्कालाई आराम

अन्तिम अभ्यास खेलमा नेपाल पराजित, कप्तान खड्कालाई आराम

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि न्युजिल्यान्डमा रहेको नेपाली टोली मंगलबार भएको अन्तिम अभ्यास खेलमा कान्टेरबरी सेलेक्सन टिमसँग तीन विकेटले हारेको छ।1545072_1403735563207370_2093309585_n
नेपाली टोलीका कप्तान पारस खड्का हिजोको खेलमा चोटग्रस्त भएकाले उनलाई आज आराम दिइएको थियो | हिजोको खेल दौरान पारसले हिपको मासपेसीमा तनाब महसुस गरेका कारण उनि रिटायर्ड हर्ट भएका थिए | अहिले उनको अवस्था सामान्य छ | अन्तिम अभ्यास खेलको नेतृत्व उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका थिए।

कान्टेरबरी सेलेक्सनविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय सात रन बनायो। जबाफी ब्याटिङमा उत्रिएको कान्टेरबरीले ४७.१ ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो।
कान्टेरबरीको जितमा केरन एम्बलरले अविजित ६३ रनको योगदान गरे। ज्याक बोयलले ३५, जेफ केसले २५, बेन राप्सनले २२ र जर्ज ड्रेकले २१ रन बनाए। ९४ रनमा चार विकेट झारेर नेपालले कान्टेरबरीलाई दबाबमा राखेको थियो। तर केरन र केसले पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गरेपछि स्थानीय टिमले सहज जित हासिल गर्‍यो। नेपाली बलर सागर पुनले तीन विकेट लिए। यसैगरी शक्ति गौचनले दुई तथा सोमपाल कामी र अनिल मण्डलले एकएक विकेट लिए।
यसअघि नेपालका लागि पृथु बास्कोटाले अविजित ४७ रन बनाएका थिए। सागर पुनले ४४, महेश क्षेत्रीले ३४ र ज्ञानेन्द्रले २५ रन जोडे।
प्रारम्भिक ब्याट्सम्यान अनिल नौ रनमा आउट हुँदा नेपालको कुल स्कोर २१ रन मात्र थियो। दोस्रो विकेटका लागि महेश र सागरले ६८ रनको साझेदारी गरे। कान्टेनबरीका बलर हेनरी सिप्लीले तीन र बेनले दुई विकेट लिए।
कान्टेरबरीसँग यसअघि खेलेका दुईवटा अभ्यास खेलमा नेपाल विजयी भएको थियो। नेपालले अब शुक्रबार नामिबिया र शनिबार केन्यासँग अभ्यास खेल खेल्नेछ। विश्वकप छनोट चरण भने पुस २९ गते सुरु हुनेछ।

फोटो सैजन्य : दिक्षा भुर्तेल 

Comment